Pages

Tuesday, June 8, 2010

नारीको नारकीय स्थिति


नारी प्रकृतिको त्यो सुन्दर सृष्टि हो जसले सम्पूर्ण कोमलता, दयालुपन र सहृदयलाई अँगालेको हुन्छ । नारी शब्द भित्र एउटा ममतामयी छवि अँकित हुन्छ जो शीतल र स्नेही हुन्छ । वास्तवमा नारी जगतकी जननी पनि हो । उ कतै आमा, कतै दिदी–बहिनी, कतै सहधर्मिणी त कतै छोरी हुन्छिन् । उसले हरेक रुपबाट पुरुष र समाजमा सेवा दिइ जन–जीवन धानी रहेकी छ तर विडम्बना उ भित्र यो कोमलता नै उसको निम्ति कमजोरी र अभिशाप बनेको छ । पुरुषहरुको आधिपत्य भएको हाम्रो जस्तो पुरुष प्रधान समाजमा नारीलाई आजसम्म पनि अबलाका रुपमा हेरिन्छ । उसको बेग्लै पहिचान तथा अस्तित्वबोधको प्रयासलाई “पोथि बासेको राम्रो हुदैन” जस्ता कुराले नकार्ने गरिन्छ । सम्भवतः यो पुरुष मन भित्रको एउटा अहम र दम्भ हो । जसले आफ्नै अस्तित्वलाई मात्र सर्वेसर्वा बनाउन खोजेको हुन्छ । नारीलाई समान हक–अधिकारका अवसरमा जसरी भएपनि आफूलाई माथि राख्न चाहन्छन । यदि कता–कता पुरुषलाई आफ्नो सत्ता छिनिने भान हुन्छ त उ धर्म–कर्म, परम्परागत चलन, रीति–रिवाज र रुढिवादिताको आडमा आफ्नो सत्ता बचाउन खोज्छ ।
नारीप्रतिको अन्याय र नारीको पीडा यस युगको मात्र होइन युगौ देखि चल्दै आएको छ । समाजले नारीलाई शारीरिक र मानसिक दुवैतिर बाट शोषण, दमन गर्न अझै पनि छाडेको छैन । त्यसो त नारी पुरुषलाई जन्म दिन्छ तर तिनै पुरुषहरुबाट अपहेलित, बलात्कृत भएर ठाउँ–ठाउँमा बेचिए र नरकीय यातना भोग्न बाध्य हुँदै आएकी छिन् ।
प्राचीनकालदेखि नै नारीलाई एउटा भोग्य वस्तु मानिदै आएको छ । उसको भावना, प्रतिभा, सुन्दर मन र कोमल हृदयलाई बुझ्ने प्रयास कसैले गर्दैनन् । नारीप्रति भई राखेको यस्तो व्यवहारले नारीलाई खोक्रो बनाई सकेको छ । सूर्योदयदेखि सूर्यास्तसम्मको काम नारीले यन्त्रवत् तरिकाले गर्छिन तर पनि उनको कार्यको कुनै मूल्याँकन गरिदैन ।
आजका आधुनिक जगतमामा नारी समानता र स्वतन्त्रताका कुरा धेरै हुन्छन तर ति कुराहरु बोली र कलम मै मात्र सीमित छन् । अहिले सभ्य भनाउँदो समाजमा अझै पनि नारीत्वलाई छिया–छिया गर्ने कलुषित भावनाहरु विद्यमान छन् । भन्न त “नारी र पुरुष रथका दुई पाँग्रा हुन” भनिन्छ तर के यो कुरा वास्तविक जीवनमा कति प्रयोग भइ राखेको छ ? समानताको कुरा गर्दा नारीले प्रगति गरेर लोकप्रिय भएमा पुरुष आफुलाई अपमानित भएको महसुस गर्दछ ।
कार्यालय, बजार, गाडी, बसका भीड वा कुनै पनि सार्वजनिक ठाउँमा नारीलाई अनेकौं भद्दा इसारा, शब्दहरु र लालची निगाहहरुको सामना गर्नुपर्दछ । नारीप्रति यस्तो व्यवहार, यो कुरा पुरुषहरुले कि ? उनको घरमा आमा, दिदी–बहिनी, श्रीमती अरु कुनै नाताका नारीहरु छन् । दाइजोका लागि निर्ममतापूर्वक गरिने हत्या कुनै नौलो घटना होइन । हाम्रो समाजमा बोक्सी, बाँझी भनेर अत्याचार पनि कम्ति हुदैन । विभिन्न बहानामा पटक–पटक पीडा दिइन्छ । बाँटोका छेऊमा माँग्न बसेकी बेसहारालाई सहारा दिनु त कता हो कता गरीबीको कारणले लुगा लगाउन नसकेर भएको अद्र्धनग्न शरीरलाई कुदृष्टिले हेर्छन । बाँटोको छेऊ त छेऊ यहाँ मानसिक सन्तुलन गुमाएर आफ्नो शरीरको वास्ता गर्न नसक्ने स्थितिमा पुगेकी महिला समेतलाई राक्षसी आँखाले हेर्न छोड्दैन ।
आफ्नै महिला, दिदी–बहिनीहरुलाई विदेश लगेर बेच्नुमा कसको हात छ ? उनीहरुलाई प्राणघातक रोग सराउनमा कसको हात छ ? महिलालाई क्षण–क्षण मृत्युको मुखमा पु¥याउन बाध्य बनाउनमा कसको हात छ ? यस्ता प्रश्नहरुको उत्तरमा हाम्रो पितृसत्तात्मक समाजले पयाप्त ध्यान दिने सकेको छैन । नारीको कारुणिक अवस्थथा र मृत्युको लागि पर्खिनुपर्ने असहाय स्थितिको लागि पितृसत्तात्मक समाजका पुरुष र केही हदसम्म नारी स्वयं आफु तर प्रकृति प्रदत्तको गुणको कारणले जिम्मेवार छन् । केही प्रकृति प्रदत्त शारीरिक अवस्थाको कारण नारीहरुमाथि विभेदजन्य व्यवहारहरु हुनु आजको युगमा कति सुहाउँछ ? जबसम्म नारीहरुमाथि विभेद भैरहन्छ, तबसम्म समाजको आधा भाग अपाङ्ग जस्तै हुन्छ । अनि आधा जनसंख्या नै अर्कमण्य रहेको समाज र राष्ट्रले कहिले उन्नति गर्न सक्छ ? त्यसैले नारीहरु माथि हुने सबै प्रकारका अन्याय, अत्याचार र शोषणका विरुद्धमा समाजका सबै सचेत पुरुषनारी मिलेर यस्तो विभेद विरुद्ध संघर्ष गरौं ।

संगीता


No comments:

Post a Comment