नेपालको १४ अञ्चल र ७५ जिल्ला मध्ये महाकाली अञ्चलको बैतडी जिल्ला नेपालको पश्चिमी क्षेत्रको सबैभन्दा दूर छ त्यसै कारणले पनि होला सुदूर पश्चिम भनिने ।
बैतडी नामकरणको सन्दर्भमा किम्वदन्ती ः–
सबैभन्दा नजिक रहेको ग्वाल्लेक धुरा (पर्वत) लाई प्रारम्भिक कालमा वायुत्तडू पर्वत भनिन्थ्यो जसको शाब्दिक अर्थ हो “वायुं+तडू=वायुत्तड” अर्थात् वायु चल्ने ठाउँ हुन आउँछ । वायुत्तडबाट पछि वायुतड र बैतड हुँदै शब्द अपभ्रंश भई समयान्तरमा विस्तारै बैतडी नाम रहेको किम्वदन्ती छ तर केहि मानिसहरुका अनुसार ग्वाल्लेकलाई पहिला बायोतडा भनिन्थ्यो । यहाँ बायोतडाको अर्थ कालोबतास हो । ग्वाल्लेकमा कालोबतास धैरे चल्थ्यो । त्यसैले यस ठाउँलाई बायोतडा भनियो पछि बायोतडा शब्द बहुतडमा बदलियो, अब बैतडीको नामले प्रचलित छ ।
यसैगरी बैतडीका विषयमा तेसो्र किम्वदन्ती “बतासे डाडाँ “ अर्थात् “बै” (हावा) “तडी”
(ठाउँ) भनेर हाल सालैको रहेको छ ।
भौगोलिक स्थिति ः
यस जिल्लाको पूर्वमा डोटी र बझाङ्ग, पश्चिममा दार्चुला र भारतको उत्तराखण्ड राज्य, उत्तरमा दार्चुला र बझाङ्ग, तथा दक्षिणमा डडेलधुरा पर्दछ । यस जिल्लाको अक्षांस २९डिग्री २२इन्च देखि २९डिग्री ५२इन्च उत्तरी अक्षांस र देशान्तर ८० डिग्री १५इन्चदेखि ८१ डिग्री ०४ इन्च पूर्वी देशान्तर छ । यस जिल्लाको कुल क्षेत्रफल १४९०.२० वर्ग किलोमीटर रहेको छ । समुद्री सतहबाट यसको उँचाई ३९० मीटरदेखि २०५० मीटरसम्म छ । ३९० मीटरको उँचाईमा सर्माली गा.वि.स. रहेको छ भने २०५० मीटरमा कोटपटेरा गा.वि.स. रहेको छ । यहॉको जलवायु समशीतोष्ण छ । यहॉको उच्चतम तापमान २६ डिग्री सेन्टीग्रेड हुन्छ भने न्यूनतम तापमान ५ डिग्री सेन्टीग्रेड रहन्छ । यहॉको वर्षाको वार्षिक औसत १७० मिली हुन्छ । यस जिल्लाले नेपालको कुल १.०३% भाग ओगटेको छ । सेती चौलानी र महाकाली नदीको बीचमा पर्ने यस जिल्लामा कोणधारी वन पाइन्छन् । यो जिल्ला झण्डै त्रिभुजाकार देखिन्छ ।्
जनजीवन ः
राष्ट्रीय जनगणना २०५८ का अनुसार यहॉको कुल जनसंख्या २,३४,४१८ देखिन्छ जसमा १,१३,५३८ (४८.४%) पुरुष छन् भने १,२०,८८० (५१.६%)महिलाको संख्या रहेको छ । यहॉ पुरुष भन्दा महिलाको संख्या बढी पाइन्छ । यहॉको जनसंख्या घनत्व १५४ जना प्रतिवर्गकिलोमीटर भएतापनि जनसंख्या वृद्धि दर १.५५% छ ।
यस जिल्लामा रहेको खसहरुमा क्षेत्री ४८.१२%, बाह्मण २०.२०%, ठकुरी ८.२३%, कामी ६.१३%, लोहार ४.६२%, अन्य १२.७% रहेका छन् ।
सबैभन्दा बढी दलित, दलितमा लोहार खस रहेको यो जिल्ला हो । जिल्लाको जनसंख्याको ५१.६% भाग ओगटेका महिला तथा २२.५% दलित एवं जनजाति अधिकाधिक भाग अझैपनि पछौटेपनले ग्रस्त हुन एक समस्याका रुपमा रहेको छ । पितृसत्तात्मक समाज तथा रुढिवादी मान्यता कै कारण महिलाहरु अझैपनि छाउपडी एवं देउकी प्रथा जस्ता अन्धविश्वास र कुपरम्पराबाट अपमानित र अपहेलित छन् ।
जगन्नाथ बाबा, त्रिपुरा सुन्दरी एवं निङ्गलासैनी भगवतीको न्यानो वात्सल्यमा २०५८ को जनगणना अनुसार करिब ९९.८%जनता हिन्दू धर्मावलम्बी छन् । यस जिल्लामा राष्ट्रभाषा नेपालीको प्रयोगको साथै स्थानीय भाषा बैतडेलीको प्रयोग बढी गरिन्छ ।
धार्मिक स्थल
यस जिल्लामा त्रिपुरा सुन्दरी, जगन्नाथ, निङ्गलासैनी, मैलोली भगवती मंदिर, पाताल भुनेश्वर, ईश्वरी गंगा, ग्वाल्लेक केदार, रौला केदार, तल्ली सोराण, धौलाकाडा, देवलहाट, पाण्डव मंदिर आदि धार्मिक स्थल रहेका छन् । ।
मुख्य बजार ः
यस जिल्लाका मुख्य बजारहरु झुलाघाट, पाटन, देमाडु, मैलोली, पुलचुडी, सेरा, खोचलेक, खोडपे आदि रहेका छन् । यहॉका मानिस आना आवश्यकताका सामानहरु माथि उल्लेखित बजारहरुबांट किन्ने गर्दछन् । झुलाघाट यहाँको मुख्य बजार हो । नजिक–नजिक गाउँका सबै मानिसहरु आफ्नो उपभोग्य सामग्रीको लागि यस भारतीय बजारमा नै पुग्ने गरेका छन् ।
आर्थिक स्थिति ः
यस जिल्लाका ८६.८% मानिस कृषिमा संलग्न छन भने ८.४% व्यापारमा, ४.५% सरकारी सेवामा तथा ०.३% अन्य कार्यमा संलग्न छन ।
कृषी जन्य पर्दाथ, जडीबुटी, वन पदार्थ, पशुजन्य उत्पादन, सेतुसल्ला एवं केतुकी, ढुङ्गा, बालुवा जस्ता खानी पदार्थमा आधारित साना तथा मझौला उद्मोग लगायत मानव संसाधनको उपयोगमा आधारित अन्य सेवा मुलक उद्मोगहरुको प्रचुर सम्भावना हुदाँहुदै पनि यो जिल्लाको औद्मोगिक क्षेत्रमा पिछिडेको छ ।
कृषिको आधुनिकीकरण नहुन सकेको र रोजगारी अवसरहरु अन्य क्षेत्रमा न्यून भएको एवं व्यवसायिक शिक्षा पद्धतिको अभावले जिल्लाको ठूलो युवा शक्ति बेरोजगारी र अद्र्धबेरोजगारीको स्थितिमा रहेको छ भने एउटो हिस्सा वर्षको कुनै अवधि छिमेकी राष्ट्र भारतमा औद्मोगिक क्षेत्र एवं शहरी क्षेत्रमा न्यूनतम वेतनमा आंशिक रोजगारीमा संलग्न हुने गरेका छन् ।
स्वास्थ्य स्थिति ः
एक मात्र १५ सैयाको जिल्ला अस्पताल, ७० को संख्यामा प्राथमिक स्वास्थ्य केंद्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी (११ स्वास्थ्य चौकी, ५५ उपस्वास्थ्य चौकी, १ प्राथमिक आँखा उपचार केन्द्र (पाटन)) एवं आयुर्वेदिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध हुन नसक्नु, स्वास्थ्य सम्बन्धी भौतिक उपकरण, औषधि एवं अन्य साधन श्रोतको कमी हुन यस क्षेत्रको समस्या हो । यहाँका २३% मानिसहरुले परिवार नियोजनका साधन प्रयोग गर्ने गर्छन । सुत्केरी सम्बन्धी तालिम प्राप्त केवल १.५% नर्स छन् । आधुनिक चिकित्सा पद्धति भन्दापनि परम्परागत धामी, झाक्रीमा विश्वास अझैपनि कायम छ । जिल्लामा राम्रो स्वास्थ्य केंद्र नहुनुका कारण भारतका पिथौरागढका जिल्ला अस्पताल तथा अन्य अस्पतालमा जाने गर्छन । कुपोषित बालबालिकाको संख्या २४% छ । उचित समयमा उपचार सुविधा नपाउनुका कारण वर्षेनी कइयोको संख्यामा मानिसले ज्यान गुमाएका थिए र गुमाइ राखेका छन् ।
यातायात तथा सञ्चार ः
यस जिल्लामा कुल १७०को संख्यामा सडक रहेका छन् । १३५ किलोमीटरको दूरीमा रहेको डडेलधुरा देखि बैतडीको सडकलाई “दशरथ चंद मार्ग” भनिन्छ ।
वर्तमान परिपेक्षमा नियालेर हेर्दा
अप्ठेरोमा छन् बैतडीका जनता ।
चौतर्फी ध्यान जावस सबैजानको
तब मात्र विकास हुन्छ जिल्लाको ।।
यस जिल्लाको दक्षिण भेगको तल्लो स्वराड क्षेत्र अन्तगर्तका दुर्गम गा.वि.स.हरुबाट निकट सतहसम्म आउन करिब डेढ दुई दिन हिड्नु पर्ने ग्रामीण जनताहरुको बाध्यता नै हो । यहाँको दुर्गम भेगमा दैनिक उपभोग्य तथा अन्य अत्यावश्यक सामानहरुके ढुवानीका लागि घोडा, खच्चरको प्रतिकिलो रु.७ का दरले प्रयोग गरिन्छ ।
भारत–नेपालको सिमानामा अवस्थित झुलाघाट गाउँको दूरी बैतडी सदरमुकामबांट २६ कि.मी. रहेको छ । बैतडी सदरमुकामदेखि झुलाघाट पुग्नको लागि पक्की सडकको व्यवस्था न भए पनि कच्ची सडकले नै यहाँको मानिसले काम चलाएका छन् ।
यस जिल्लाका पाटनमा हवाई अड्डा रहेको छ ।
एक्काईसौ शताब्दीको सूचना एवं प्रविधिका साधन बाट धैरे टाढा न भए तापनि टाढा नै छ । यहाँ रेडियो ५२%, टेलीभिजन ६% र टेलीफोन सुविधा पाउने परिवार कमै छन् । इन्टरनेट, हुलाक सेवा प्रणालीको आधुनिकीकरण सेवालाई नियमित पहुँचमा आधार बनाउन प्राविधिक सेवा सुधारको आवश्यकता छ ।
खानेपानी आपूर्ति ः
एक्काईसौ शताब्दीमा आइपुग्दापनि यस ठाउँमा खानेपानीका निम्ति दुःख विद्ममान नै छ । कतिपय ठाउँमा दुइ–तिन घण्टा टाढाबांट खानेपानी बोकेर खानुपर्ने अवस्था छ । यहाँ केवल ४९% जनजीवनकालागि शुद्ध खानेपानीको व्यवस्था छ ।
शैक्षिक स्थिति ः
यस जिल्लामा कुल विद्मालय संख्या ३७५ रहेको छ जस मध्ये एउटा क्याम्पस र ७ उच्च माध्यमिक विद्मालय रहेका छन् । यहाँको कुल साक्षरता मध्ये पुरुष ७३ % छ भने महिला साक्षरता केवल ३१% रहेको छ ।
राम्रो शिक्षक र शिक्षाको अभावका कारण यहाँको धेरैजसो विद्यार्थीहरु छिमेकी मुलुक भारतमा गएर निम्न र उच्च स्तरीय शिक्षा लिने गरेका छन् । कतिपय विद्यार्थीले प्राथमिक स्त्तरमा नेपाली र उच्च स्त्तरमा गएर हिन्दीमा शिक्षा लिँदा भाषाको साथसाथै पढाईमा पनि धेरै समस्याको सामना गर्नु पर्दछ । जसकारणले गर्दा उनीहरु चाहेको जस्तो अंक तथा श्रेणी ल्याउनुमा असमर्थ हुन्छन् र उनीहरुले जति र जुन, अंक र श्रेणी, पाए वा ल्याए त्यसैमा सन्तोष गर्नु उनीहरुको बाध्यता हुन्छ ।
विशेष पहिचान ः
१०४ वर्षको जहाँनिया राणाशासनको विरुद्ध राजनैतिक स्वतन्त्रताका लागि आहुति दिने मुलुकका चार अमर शहीदहरु मध्येका एक वीर शहीद दशरथ चंदको पुण्य जन्म भूमिकोरुपमा यो जिल्ला परिचित छ । सुदूरपश्चिमको बैतडीको वस्कोटमा वि.सं. १९६० असार १७ गतेमा शेर बहादुर चंद तथा पार्वती चंदको कांछा छोराका रुपमा जन्मनु भएको थियो । भारतीय स्वतन्त्रता संग्राममा समेत सक्रिय रही जेल समेत गएर नेपाल फर्किनु भएका स्वाभिमानी देशभक्तले नेपालमा राणाशाही विरुद्ध क्रान्ति गरी देश र जनतालाई निरंकुशताको बेडीबांट मुक्त गर्ने उद्देश्यले “नेपाल प्रजा परिषद”को स्थापना गरेको थियो । राणा शासकहरुको सिंहासन डगमगाउने प्रमुख शक्तिका रुपमा केवल दशरथ चंद नै हुन । राणाशाहीद्वारा लोभ, लालच, डर, धम्की हरेक प्रयत्न खेर गए पछि क्रान्तिको ज्वाला निमाउने उद्देश्यले अन्ततः राणाशाहीले उहाँलाई मृत्युदण्ड दिए । क्रान्ति दमन हुनुका सट्टा विस्फोट भयो, जसका फलस्वरुप दशरथ चंदले अमरत्व प्राप्त गरे, राणाशाहीहरुको छिट्टै अन्त भयो । २००७ सालमा राणाशासनको अंत भई प्रजातान्त्रिक शासन व्यवस्थाको उदय भयो ।
नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको दुर्गमपहाडी भेगमा पर्ने बैतडी जिल्ला नेपालको राजनीतिक आंदोलनका चार अग्रज शहीद मध्ये एक वीरसपूत दशरथ चंदको पुण्यभूमिका रुपमा परिचित र देशको जिम्मेवार पद सम्भाल्ने प्रधानमन्त्री (लोकेन्द्रबहादुर चंद) लाई जन्माउने यो बैतडीले आफ्नो सन्तानबाट देशको साथसाथै आफ्नो क्षेत्र विकासको आशा राखे पनि सन्तानले चाहिँ निराश बनायो अर्थात् बैतडी पुत्र लोकेन्द्रबहादुर चंदले यस्तो केहि पनि गरेनन् जस्ले बैतडी विकास तिर लम्कियोस् ।
सुदूर भन्दैमा विकासको सम्भावना नै नभएको होइन । सुदूरको यस जिल्लामा विकासको प्रसस्त सम्भावना छन् मात्र तिनीहरुको पहिचान गर्न सक्ने शक्तिको खाँचो छ । जसरी हिराको पहिचान जौहरीले मात्र गर्न सक्छ त्यस्तै यस अविकसित जिल्लामा रहेका सम्भावनाको पहिचान गर्ने जौहरीको आवश्यकता यस सुदूरलाई पनि छ ।
No comments:
Post a Comment